१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद


0
Shares

kp oli prachanda

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ ।

यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन हुने विषयमा विवाद रहँदै आएकोमा अहिले शक्ति संघर्ष चर्कंदै जाँदा पार्टीको घोषित नीतिमै समेत अन्योल बढेको हो ।

आन्तरिक विवादको चंगुलमा फसिरहँदा नेकपाभित्र गुटगत भेला र भेटघाट तीव्र छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले एकले अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि चुलिएको विवादका बीच नेताहरुका गुटगत भेला, बैठक र छलफलले तीव्रता पाएको हो ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनको नाममा र दाहाल–नेपाल समूहले पार्टीकै नाममा खुलेरै समूहगत भेला, बैठक र छलफल गर्नुभएको छ ।

पछिल्लो समय दाहाल–नेपाल समूहले गुटगत भेला तथा बैठकलाई तीव्रता दिँद विद्यार्थी र प्रदेशस्तरीय अगुवा भेलासमेत आयोजना गरेको छ ।

यता, केही समयअघि प्रधानमन्त्री ओलीले प्रदेश नम्बर–१ का साथै काठमाडौंमा फाउन्डेसनको नाममा भेला गर्दै जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा वडास्तरसम्म कमिटी गठन गर्दै अगाडि बढ्न निर्देशन दिनुभएको थियो ।

त्यसो त गत भदौ २६ गतेको स्थायी कमिटी बैठक र त्यसपछि जारी निर्देशिकाले गुट भेलामा रोक लगाएपनि पार्टीभित्र एकपछि अर्को गुटगत भेला गर्दै नेताहरुले पार्टीभित्र आफूअनुकूलका विगतका नीतिलाई ब्युताउँदै समीकरण बलियो पार्ने दाउमा देखिएका हुन् ।

तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन माओवादीको ‘२१औं शताब्दीको जनवाद’लाई थाती राख्दै पार्टी एकीकरणपछि ‘जनताको जनवाद’लाई राजनीतिक कार्यदिशा तय गरिएको भएपनि ‘जबज’लाई प्रश्रय हुनेगरी गुटगत भेला गर्नु एकतामाथिको प्रहार रहेको दाहाल खेमाको आरोप छ ।

उसो त प्रधानमन्त्री ओलीले आफू संकटमा पर्दा सधैं मदन भण्डारीका नाममा खोलिएका फाउन्डेसन र प्रतिष्ठानहरुको प्रयोग गर्ने गरेको आरोप इतर पक्षको छ ।

फाउन्डेसनको नाममा गुट परिचालनसँगै जबजको अस्त्र लगाएर नेपाल पक्षका नेता-कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउने प्रयाससमेत ओलीको देखिन्छ ।

नेकपाभित्र राजनीतिक कार्यदिशाको समेत विवाद चर्कंदै गएका बेला जबजको प्रयोग गुटगत स्वार्थप्रेरित रहेको ओलीइतर समूहको आरोप छ ।

त्यसो त गत स्थायी कमिटी बैठकमा पार्टीभित्र ओली बहुमतको घेरामा परेका बेला निर्वाचन आयोगमै जबजलाई घोषित नीति बनाएरै उहाँकै मिलेमतोमा एमाले नामको दल दर्ता गराएको इतर पक्षको आरोप थियो ।

पार्टीभित्रको विवाद समाधान गर्न गहन र मिहिन छलफलमा जुट्नुपर्ने शीर्ष नेताहरु अहिले जबज र जनवादको पक्षपोषणमा लाग्दा पार्टीको नीतिसम्बन्धी विवाद फराकिलो बन्दै गएको छ ।

भिडियो हेर्नुहोस्

भिडियोः राजेन्द्र नापित ।