
काठमाडौं, मंसिर ३० । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।
हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले गाँस, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजनाअनुसार काम भइरहेको बताउनुभयो ।
अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन–पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उहाँले बताउनुभयो ।
अब भने कोठा पनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताउनुभयो ।
अहिले हाम्रो टिम नेपालमा खाना खान आउनेमध्येका करिब ७०–८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बताउनुधयो ।
हाम्रो टिमले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ ।
नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्