
काठमाडौं, मंसिर ३० । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकार्य नहुने बताउनुभएको छ ।
उहाँले ट्वीट गर्दै सरकारको सो कदमको भर्त्सना गर्नुभएको हो ।
‘आज अचानक आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो’–उहाँले ट्वीटमा लेख्नुभएको छ ।
संविधान र प्रणालीमाथि सरकारले नांगो आक्रमण गरेको उहाँको आरोप छ ।
सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको हो । नेकपाको आन्तरिक किचलो र प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिले परिषद्को बैठक अवरुद्ध हुँदै आएको बेला अकस्मात् अध्यादेश ल्याइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषद्को बैठक सभामुख अग्नि सापकोटाले बहिस्कार गर्नुभएको थियो ।
त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएर संवैधानिक परिषद् बैठकको गणपूरकसम्बन्धी व्यवस्था नै फेरबदल गर्न अध्यादेश ल्याउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मंगलबारै साँझ ५ बजेलाई फेरि परिषद्को बैठक बोलाउनुभएको छ ।
साँझ बैठक बस्नुअगावै उहाँले मन्त्रिपरिषद् बैठक राखेर अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएर जारी गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्