१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गुलियो उखुको तीतो कथा ! (भिडियो)


0
Shares

काठमाडौं, मंसिर ३० । एक वर्षअघि सरकारसँगको पाँचबुँदे सहमति कार्यान्वयन नभएपछि उखु कृषकहरु अहिले फेरि काठमाडौंको सडकमा उत्रिएका छन् ।

९० करोड रुपैयाँभन्दा बढी बक्यौता नपाउँदाको पीडा बोकेर आन्दोलनमा उत्रिएका उनीहरु प्राण त्यागेर भएपनि माग पूरा गराएरै छाड्ने अडानमा छन् ।

तर, सरकारले भने आन्दोलनलाई ‘नक्कली किसान’को आन्दोलन भन्दै बेवास्ता गरिरहेको छ ।

सर्लाहीको गोडैता नगरपालिका–११ निवासी उखु किसान गौरीशंकर पण्डितले उखु बिक्रीबापत्को एक लाख ७० हजार रुपैयाँ पाउन बाँकी छ । उखु मिल र साहुको नामसमेत थाहा नभएका उनी बिक्री गरेको उखुको मूल्य पाउने आशमा आठ हजार बोकेर आन्दोलनका लागि काठमाडौं आएका छन्, त्यो पनि ऋण गरेर ।

सर्लाहीका अर्का किसान ७० वर्षीय गगनदेव रायले सात वर्षअघिदेखिको उखुको भुक्तानी पाएका छैनन् । बैंकको १० लाख ऋण रहेको बताउने उनी नेताहरुको मिलेमतोमा साहुले किसानलाई रुवाएको भन्दै माग पूरा गराएरै घर फर्किने अडानमा छन् ।

काठमाडौंकेन्द्रित आन्दोलनमा होमिएका प्रायः उसु किसानलाई मिल तथा मिल मालिकको नामसमेत थाहा छैन ।

एक लाखभन्दा बढी पीडित उसु किसानहरुको माग सम्बोधनका लागि दबाब दिन माइतीघर मण्डलाको चिसो सडकमा उनीहरु यस वर्ष पनि उत्रन बाध्य छन् । यसपटक देहत्याग गर्नु परेपनि माग भने पूरा नभइ जिल्ला नफर्कने उनीहरुको अडान छ ।

उसु किसानहरुले अघिल्लो वर्ष पनि रकम भुक्तानीको माग गर्दै काठमाडौंमा आन्दोलन गरेपछि सरकारसँग पाँचबुँदे सहमति भएको थियो । तर, एक वर्षसम्म पनि सहमति कार्यान्वयन नहुँदा उनीहरु आक्रोशित छन् ।

अहिले त उद्योगमन्त्रीले नै नक्कली किसानको ‘ट्याग’ भिराइदिएपछि उनीहरुलाई पीडामा नुकचुक छरेजस्तो भएको छ ।

सरकारले सुनुवाइ नगरेपनि विभिन्न दलका नेताहरुले भने उसु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

आफूले उत्पादन गरेको उखुको रकम भुक्तानीका लागि किसानहरु पटक–पटक आन्दोलनमा उत्रनु विडम्बनापूर्ण अवस्था हो ।

सहमति गर्ने तर सहमति कार्यान्वयन नगर्ने अवस्थाको अन्त्य नभएपछि किसानहरुको पीडा यसैगरी बल्झिरहनेछ । किसानहरुले आफ्नो श्रम र उत्पादनको मूल्यका लागि कहिलेसम्म आन्दोलन गरिरहनुपर्ने हो ?

भिडियो हेर्नुहोस्

भिडियोः भरत केसी ।