
विराटनगर, मंसिर ३० । प्रदेश नम्बर–१ सरकारले मोरङको विराटनगरमा आधुनिक प्रयोगशाला स्थापना गर्ने भएको छ ।
स्नातकोत्तर क्याम्पस विराटनगरको आठ कठ्ठा जग्गा भाडामा लिएर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम सुरुआत गरेको हो ।
भवन दातृनिकाय सेभ त चिल्ड्रेनको आठ करोड रुपैयाँ आर्थिक लगानीमा निर्माण हुनेछ ।
मंगलबार भवनको शिलान्यास गर्दै मुख्यमन्त्री शेरधन राईले संविधानले प्रदत्त गरेको नागरिकको मौलिक अधिकार र स्वास्थ्य सुरक्षाका लागि तीनै तहका सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले संविधानमा लेखेरमात्रै नभई कार्यन्वयनका लागि आवश्यक पर्ने संरचना निर्माणमा सरकारले तदारुकता देखाइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रादेशिक प्रयोगशाला स्थापनासँगै प्रदेश–१ का नागरिकले परीक्षणका लागि टेकु वा भारतका विभिन्न सहरमा धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
उहाँले आठ महिनापछि प्रयोगशाला सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने यन्त्र र उपकरण खरिदको प्रक्रियासमेत चाँडै अगाडि बढाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्