१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंकहरुको नयाँ ब्याजदर कायम, एउटै ग्राहकले एक भन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नपाउने


0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् ।

बैंकहरूले आजदेखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् । गत साता नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो ।

राष्ट्र बैंकले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत भन्दा फरक हुन नहुने व्यवस्था गरेको छ ।

त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो । यस्तै अबदेखि ग्राहकले एकभन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नपाउने भएका छन् ।

राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा कडाई गर्दै नयाँ व्यवस्था ल्याएको हो । केन्द्रीय बैंकले व्यक्तिगत कर्जा, सेयरधितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरेको छ ।

जसको कार्यविधि बनाएर एकभन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नमिल्ने व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

अब केन्द्रीय बैंकले कुनै एक बैंक तथा वित्त कम्पनीबाट ओभरड्राफ्ट शिर्षकमा कर्जा लिएको ग्राहकलाई अर्को बैंक तथा वित्त कम्पनीले कर्जा दिन नमिल्ने व्यवस्था गर्नेछ ।

मौद्रिक नीति समीक्षामा उल्लेख गरिएका व्यवस्थालाई सम्बन्धित विभागले कार्यविधि बनाएर राष्ट्र बैंक व्यवस्थापन कमिटीबाट निर्णय भएसँगै विभागिय निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ ।

हालसम्म बिना प्रयोजन वा प्रयोजन नखुलेका ओभरड्राफ्ट शिर्षकमा बैंक तथा वित्त कम्पनीहरुले एक ग्राहकलाई अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्म बैंक तथा वित्त कम्पनीले ५ खर्ब ७ अर्ब ५ करोड ९० लाख प्रयोजन नखुलेका कर्जा ओभर ड्राफ्ट शिर्षकमा प्रवाह गरेका छन् ।