
कञ्चनपुर । कञ्चनपुरका युवाहरुले आफ्नो उर्जाशील समय जंगली जनावर र छाडा चौपायाहरुको स्याहारमा समर्पित गरेका छन् ।
सडक दुर्घटना तथा अमानवीय व्यवहारका कारण जंगली पशुपंछी तथा छाडा चौपायाहरुको मृत्यु हुन थालेपछि यहाँका युवाहरुले अभियान नै सञ्चालन गरेर घाइते जनावरको उपचार र स्याहारमा जुटेका हुन् ।
भीमदत्त नगरपालिका– ७ हल्दुखालका मदन चन्द महेन्द्रनगरको बजार पुगेर सहरको गल्लीमा घुम्ने भुस्याहा कुकुरहरुका लागि सँधै पाउरोटी किन्छन् ।
बिहान उनीभन्दा अघि नै उनको पसल वरिपरी कुकुर तथा छाडा गाईबाच्छा झुम्मिसकेका हुन्छन् । उनले किनेको पाउरोटीलाई दूधमा भिजाएर झुम्मिएका जनावरहरुलाई खुवाउँछन् ।
धुम्रपानविरुद्धका अभियन्तासमेत रहेका चन्द ०६२–०६३ सालयता कुकुरको स्याहारमा लागेका हुन् । उनले कुकुरहरुलाई खाना खुवाउने मात्र होइन, तिनको फोहोर आङमा औषधी पनि आफै लगाइदिन्छन् ।
महेन्द्रनगरको सामाजिक आन्दोलनमा सहभागी भइरहने चन्दले गल्लीमा छाडिएका भुस्याहा कुकुरहरुलाई गरेको माया देखेर उनको प्रशंसा गर्नेहरु त धेरै छन् तर सहयोगका लागि कोही पनि नआएको उनको अनुभव छ ।
अहिले उनका छोरा र केही युवाहरुले उनलाई सघाइरहेका छन् । चन्द मात्रै होइन पछिल्लो समय महेन्द्रनगरमा जनावरप्रेमी युवाहरु बढ्दै गएका छन् ।
कतिपय युवाहरुले अभियान नै सञ्चालन गरेर घाइते तथा बेसहारा चौपायाको सहयोगमा जुटेका छन् भने कतिपयले घाइते पशुचौपायाका उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
दुई वर्षदेखि सडक दूर्घटना तथा मानिसहरुबाट कुटिएर घाइते भएका पशुचौपायाको उपचारमा खटिनु भएका विष्णुप्रसाद पनेरु व्यवस्थापनका लागि आर्थिक स्रोत नभएकाले निको भएका चौपायालाई पुनः सडकमै छोड्नुपर्ने अवस्था भएको दुखेसो पोख्नुहुन्छ ।
उसो त छाडा चौपाया व्यवस्थापनका नाममा कञ्चनपुरमा झण्डै एक करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ ।
गौशाला निर्माण तथा छाडा चौपाया व्यवस्थापनका नाममा पालिकाहरुले करोडौ खर्च गरेपनि त्यस अनुसारको चौपायाहरुको व्यवस्थापन भने हुन सकेको छैन ।
जसले गर्दा सडक दुर्घटनामा दैनिक चार-पाँच वटा पशुचौपाया घाइते तथा मर्ने गरेका छन् ।
कञ्चनपुरमा दूध दुहुञ्जेल गाईलाई घरमा पाल्ने र दूध दिन छोडेपछि सडकमा छोड्ने प्रचलन बढ्दै गएको छ ।
यसले पर्ने दीर्घकालीन असर बारे नबुझ्दा यस्तो समस्या आएको घाइते चौपायाको उपचारमा खटिँदै आउनु भएका अर्का युवा योगेश्वर भट्ट बताउनुहुन्छ ।
कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्नाले स्थिति दिन प्रतिदिन विकराल बन्दै गएको छ ।
समस्या समाधानका लागि घाइते चौपायाको उपचार र स्याहारमा जुटेका युवालाई हौस्याउन स्थानीय तहका साथै हरेक नागरिकको कर्तव्य हो । (भिडियो)
प्रतिक्रिया दिनुहोस्