
काठमाडौैं । कोरोना भाइरसविरुद्धको खोप नेपालमा ल्याउने तयारी भए पनि भण्डारण गर्ने क्षमता कम हु्ँदा खोप पाइहाले पनि प्रयोगमा ल्याउन निकै कठिन हुने देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले अमेरिकाको फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपलाई मात्र अहिलेसम्म आकस्मिक प्रयोगका लागि स्विकृति दिएको छ । अनुदानस्वरुप यो खोप नेपालले पाए पनि प्रयोगमा ल्याउन सक्ने सम्भावना अत्यन्त न्यून छ । खोपलाई माइनस ७० डिग्री सेल्सियस सम्म भण्डारण गर्नु पर्ने र नेपालमा हालसम्म त्यस्तो भण्डारण क्षमता नभएकाले आकस्मिक प्रयोगको मान्यता पाएको खोप ल्याउन तत्काल सम्भव नदेखिएको हो । ७० डिग्रीमा सेल्सियसमा खोप राख्न छुट्टै प्रविधि चाहिने भन्दै खोप प्रयोगमा ल्याउन नसकिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्माले बताउनुभयो ।
सरकारले खोपको विभिन्न विकल्पको खोजी गर्न थालेको छ । माइनस २० वा २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने खोपहरू ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ । अमेरिकाको मोर्डना र अक्सफोर्डले बनाएका खोप भण्डारण गर्ने क्षमता समेत नेपालमा कम छ । नियमित खोप कार्यक्रमहरू सञ्चालन भइरहेका कर्णाली, बागमती र प्रदेश २ मा खोप भण्डारण गर्ने क्षमता कम रहेको खोप शाखा प्रमुख डा. शर्माले जानकारी दिनुभयो ।
२ देखि ८ डिग्री सेल्सियसमा खोपको भण्डारण गरेर नेपालमा अहिले ३ प्रतिशत व्यक्तिलाई मात्र खोप दिन सकिन्छ । बाँकीका लागि भण्डारण क्षमता बढाउनुको विकल्प नभएको खोप प्रमुख डा. शर्माले जानकारी दिनुभयो । सरकारले खोप भण्डारणको क्षमता विस्तारका लागि अहिले पनि ठोस काम गर्न सकेको छैन । यही गतिले काम गर्ने हो भने विश्वमा खोपको सहज उपलब्धता हुँदा पनि नेपालीले टुलुटुलु हेर्नु पर्ने हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस्