
काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवादले नयाँ नयाँ मोड लिइरहंदा प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जानुभएको छ ।
संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गरिरहँदा दुई अध्यक्षबीच आज प्रचण्ड निवासमा भेटवार्ता हुन लागेको हो ।
उहाँहरुबीच हिजो मात्र बालुवाटारमा छलफल भएको थियो । पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
हिजजै मात्र प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरि ओलीमाथि दबाव बढाएका थिए ।
उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिनुभएको थियो ।
गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो ।
तर सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । प्रचण्डको दबाव पछि ओली परिषद्को बैठक रोक्न बाध्य हुनु भएको थियो ।
प्रधानमन्त्री ओलीले यो कदमबाट प्रचण्ड नेपाल समुह थप आक्रोश बनेको छ ।
गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेयता नेकपा विवाद छताछुल्ल भएको छ ।
प्रतिक्रिया दिनुहोस्