
काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिशलाई असंवैधानिक भनेको छ ।
कांग्रेसले संसद विघटनको निर्णय असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने प्रष्ट गरेको छ ।
संसद विघटनको सिफारिशलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले नेपाली कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्ने टिप्पणी गर्नुभयो ।
उहाँले प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्दै संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीमा अधिनायकवादी आकांक्षा रहेको भन्दै त्यसलाई विफल बनाइने दृढता पनि प्रवक्ता शर्माले देखाउनुभएको छ ।
शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ! जय नेपाल !’ ।
यसैगरी, कांग्रेस नेता मीनेन्द्र रिजालले संसद विघटनको सिफारिशलाई असंवैधानिक भन्दै बहुमतबाट अर्को प्रधानमन्त्री चुनिने अवस्था रहँदासम्म संसद विघटन हुन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संविधान विपरितको कदम चालेको भन्दै उहाँले प्रधानमन्त्रीले बहुमत गुमाएपछि सत्तावादी राजनीतिका लगि संविधान मिच्न थाल्नु भएको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीले आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिश गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्