
काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र यसले निम्त्याएका विभिन्न समस्याका बारेमा छलफल गर्न आज दलहरु छुट्टा छुट्टै छलफलमा जुटने भएका छन् ।
प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरुले छुट्टाछुट्टै छलफल थालेका हुन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ ।
बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् ।
संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । यस्तै दाहाल नेपाल समूहले पनि आफ्ना सांसदहरुसँग परामर्श गर्दै छन् ।
हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्