६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सवारी चालक अनुमतिपत्रको परीक्षा एकसातामा खुल्ने


0
Shares

काठमाडौं । कोरोना महामारीले नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा एक सातापछि खुला हुने भएको छ । सम्बन्धित प्रदेश कार्यालयले एकैपटक लाइसेन्सको परीक्षा खुला गर्ने गरी आवश्यक तयारी गरिरहेकाले १५ पुसपछि परीक्षा खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षा र अनलाइन फाराम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका यातायात कार्यायलबाट हुने भएकाले सोही अनुसारको आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेको विभागका सूचना अधिकारी लोकनात भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार लाइसेन्सको परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल) लिने विषयमा आवश्यक तयारी भएको र औपचारिक निर्णय मात्रै हुन बाँकी छ । १५ पुस सातै प्रदेशबाट चारपाङ्ग्रे र दुईपाङ्ग्रे दुवै प्रकारका सवारीको चालक अनुमति पत्रको परीक्षा खुला हुँदैछ ।

अनलाइन प्रणालीबाट परीक्षा लिने गरी आवेदन खुला गर्ने भए पनि परीक्षा लिने र ट्रायल गरान सक्ने आधारमा दैनिक परीक्षाको कोटा भने सम्बन्धित यातायात कार्यालयले नै तोक्ने भुसालले बताउनुभयो । यद्यपि आवेदन भने सबैले दिन पाउनेछन् ।

काठमाडौं उपत्यकाको लागि भने तीन वटा कार्यालयबाट परीक्षाको कार्य हुनेछ । सबै कार्यालयबाट अनलाइनमार्फत आवेदन दिन र सवारी चालक अनुमतिपत्रको परीक्षा दिन सकिने छ । अब लिने सवारी चालकको परीक्षाबाट लाइसेन्स पनि छिटो दिने गरी व्यवस्था मिलाइने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।