
पाल्पा । मासुको प्रयोजनका लागि कालिजको माग बढेसँगै यसको व्यावसायिक पालनमा किसान उत्साहित हुन थालेका छन् ।
पछिल्लो समय कालिजको मासुको माग बढेपछि विभिन्न ठाउँमा यसको व्यावसायिक उत्पादन सुरु गरीएको हो । जंगलमा पाइने कालिज मार्न सरकारले प्रतिबन्ध लगाए पनि व्यावसायिक रुपमा पालनमा आर्कषण बढेको छ ।
कालिज पालन गर्न खासै प्राविधिक ज्ञानको आवश्यक नपर्ने र अरु पंक्षीभन्दा मृत्युदर धेरै कम हुने भएकाले पनि व्यवसायमा घाटा नहुने किसानहरु बताउँछन् ।
सरकारले पनि कालिज पालन व्यवसायका लागि अनुदान दिन थालेपछि नेपालका धेरै जिल्लामा कालिजको व्यावसायिक पालन सुरु गरीएको छ ।
कोरोनाको महामारीपछि वैदेशिक रोजगारीमा गएकाहरु स्वेदश फर्किएसँगै वैकल्पिक पेशाको रुपमा विभिन्न जिल्लामा कालिज पालन सुरु भएको छ ।
पाल्पामा ५ जना युवा मिलेर करोडौं लगानीमा व्यावसायिक कालिज पालन सुरु गरेका छन् । यसको व्यवसायिक व्यापार नभएको र माग दिनहुँ बढ्दै गएकाले युवाहरुले तानसेन शितोष्ण वाइल्डलाइफ एण्ड एग्रो रिसर्च सेन्टर सञ्चालनमा ल्याएर व्यवसाय नै सुरु गरेका हुन् ।
लुम्बिनी प्रदेशमै पहिलो पटक कालिज पालन सुरु गरिएको कम्पनीले जनाएको छ । वाइल्ड लाइफसहित एग्रो टुरिजम नेपालमा नयाँ र नौलो भएकाले जोखिम उठाएर यो व्यवसायमा लागेको कम्पनीका सञ्चालकहरु बताउँछन् ।
फार्ममा चाइनिज रिग्नेड प्रजातीका २२ सय कालिज पालिएको छ । कम्पनीले आगामी दिनमा अनुमति प्राप्त अन्य वन्यजन्तुसमेत पालन गर्ने जनाएको छ ।
त्यस्तै भक्तपुरमा पनि कालिजको व्यावसायिक उत्पादन सुरु गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन सुरु गरेको हो ।
उता सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६, थुम्पाखरका युवाहरु कालिज पालन व्यवसायतर्फ आकर्षित भएका छन् ।
भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि मार्फत कालिज पालन सुरु गरेका युवाहरुले १३ लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेका छन् ।
घाटा बेहोर्न नपर्ने भन्दै उनीहरुले कालिज पालन सुरु गरेको जनाएका छन् । एक दिने कालिजको चल्लालाई करिव २ हजार रुपैयाँ पर्छ भने ६ महिनामा मासुका लागि योग्य हुन्छ ।
कालिजको बजार मूल्य ३५ सय देखि ४५ सय रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्