
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ ।
ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो । यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सम्मान र पुरस्कारले ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताउनुभयो । नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने आफ्नो योजना रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले सहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष अवार्ड प्रदान गर्ने गरेको छ । यसवर्ष कार्यालयले दक्षिण कोरियाका ४, चीनका ३, जापानका २, मलेसियाका १, थाइल्याण्डको १ र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कुल १२ वटा शहरलाई पुरस्कृत गरेको हो
नगरपालिकाले विगत ३ वर्षदेखि भत्केका मठ मन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुनर्निर्माणमा ध्यान दिदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस्