
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार बदर गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यकारी अध्यक्ष दाहालले पार्टी सञ्चालनमा असक्षमता प्रदर्शन गरेको, पार्टीमा ध्यान नदिएको भन्दै बैठकले कार्यकारी अध्यक्षको अधिकार बदर गरेको हो ।
यस्तै, बैठकले आजै पार्टीको विधान संशोधन गरी बैठकका निर्णयहरूमा प्रथम अध्यक्ष ओलीको मात्र हस्ताक्षर चल्ने गरी विधानलाई निर्वाचन आयोगमा दर्ता गरेको छ । बैठकले सातवटै प्रदेशमा नेताहरूलाई पार्टी समन्वय गर्ने जिम्मेवारीसहित संयोजक तोकेको छ ।
बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टराईलाई संयोजक ताेकेकाे छ ।
यसअघि दाहाल र नेपाल समूहको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष ओलीलाई अध्यक्ष पदबाट बर्खास्त गरेर अध्यक्षमा नेता माधवकुमार नेपाललाई चयन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्