७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संरक्षण र प्रचारप्रसारको अभावमा चिडिया ताल


0
Shares

विराज रोस्यारा (इमेज)
कैलाली । घोडाघोडी नगरपालिका–२, साडेपानीमा रहेको चिडिया ताल संरक्षण संवर्द्धनकाे अभावमा ओझेलमा परेको छ । पूर्वपश्चिम राजमार्गदेखि करिब ३ सय मिटर उत्तरमा रहेको मनमोहक चिडिया तालको संरक्षण र प्रचारप्रसार गरी यस क्षेत्रको पर्यटकीय विकास गर्न स्थानीयले आग्रह गरेका छन् ।

करिब ३० हेक्टर क्षेत्रफलमा फैलिएको चिडिया ताल मनमोहक देखिन्छ । सामुदायिक वन भित्र रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न डिपिआरको काम अघि बढाइएको छ । यसलाई पर्यटकीय क्षेत्रको विकास गर्न स्थानीय तह जुट्नु पर्ने चिडिया ताल सामुदायिक वनका अध्यक्ष चक्र बहादुर बिष्टको भनाइ छ ।

सामुदायिक वन मातहतमा रहेको चिडिया तालको संरक्षण र विकासका लागि कसैबाट पहल नभएको स्थानीयको गुनासो छ । चिडिया तालको प्रचारप्रसारका लागि पर्यटन प्रवर्धन महोत्सव समेत आयोजना गरिएको चिडिया तालका युवा अभियन्ता सेनेश शाहीले जानकारी दिनुभयो ।

घोडाघोडी तालबाट एक किलो मिटर दूरीमा रहेकाे तालमा पूर्वाधार विकास गर्न सके आन्तरिक पर्यटकको संख्या वृद्धि हुने स्थानीय लोकबहादुर बिष्टको भनाइ छ ।

घोडाघोडी नगरपालिकाको पहलमा ताललाई पछिल्लो समय हात्ती संरक्षण केन्द्रको रूपमा स्थापित गर्न अध्ययन थालिएको छ । एसियामा हात्तीको संख्या घट्दै गएकाले हात्तीको संख्या वृद्धिका लागि हात्ती प्रजनन् केन्द्रको रूपमा स्थापित गर्न अध्ययन थालिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताउनुभयो ।

तालको संरक्षण गर्न सके यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्नुका साथै स्थानीयको आर्थिक उपार्जनसमेत बढ्ने भएकाले विकास र प्रचारप्रसारको लागि ध्यान दिनुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्