
काठमाडौं । बेलायत र युरोपियन युनियन (ईयू)बीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा सहमति भएको छ ।
माछा मार्ने अधिकार र भावी व्यापार नीतिका बारेमा महिनौसम्मको मतभेदपछि दुवै पक्षबीच ब्रेक्जिटबारे सहमति भएको बीबीसीले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलनमा पूराना कानुन अनुसार नै ब्रेक्जिट सहमति भएको बताउनुभएको छ ।
ब्रेक्जिट सम्झौता समग्र युरोपका लागि फलदायी भएको प्रधानमन्त्री जोनसनको दावी छ । उहाँले वार्षिक ६६८ अर्ब पाउण्ड बराबरको सबैभन्दा ठूलो सम्झौता भएको बताउनुभयो ।
सम्झौताले बेलायती कम्पनीहरुलाई युरोपभर व्यापार बिस्तारमा सहयोग पुग्ने उहाँको विश्वास छ । तर सहमतिका बुँदा भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् ।
युरोपेली युनियनबाट बाहिरिएको एक वर्षपछि बेलायत पुन औपचारिक रुपमा ईयूको व्यापार नीतिबाट बाहिरिएको छ ।
नयाँ सम्झौतासँगै बेलायत र युरोपियन युनियनका आ आफ्ना बजार हुने बताइएको छ । तर दुवै पक्षले एकअर्काको आवागमनलाई स्वतन्त्रता दिने बताइएको छ ।
कोरोना भाइरसको महामारी जारी रहेका बेला सीमा अवरोध र आयातमा करलगायतका समस्या झेलिरहेको बेलायतलाई ब्रेक्जिटपछिको सम्झौता महत्वपूर्ण हुने बताइएको छ ।
यसले केही हदसम्म राहत दिने बेलायतले अपेक्षा राखेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्