
काठमाडौं । वैदेशिक व्यापारमा नेपालले आयातको १० प्रतिशतमात्रै निर्यात गर्न सफल भएको छ ।
चालू आर्थिक वर्षको पाँच महिनासम्ममा नेपालले सवा पाँच खर्ब रुपैयाँको आयात गरेको छ भने निर्यात भने ५० अर्ब रुपैयाँको मात्रै छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म आयात ९ दशमलव ५–९ प्रतिशतले घटेर ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँको भएको छ ।
अघिल्लो वर्ष सो अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख १९ हजार रुपैयाँको आयात भएको थियो । यो वर्ष कोभिड–१९ को प्रभावले आयात झन्डै १० प्रतिशतले घटेको हो ।
कोभिडको प्रभावले अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुको आयातमा कमी आउँदा समग्र वस्तुको आयातमा कमी भएको विभागको तथ्यांक छ ।
पाँच महिनामा निर्यात ५ दशमलव १–२ प्रतिशतले बढेर ५० अर्ब ५५ करोड ६० लाख ८ हजार रुपैयाँको भएको छ ।
अघिल्लो वर्ष सो अवधिमा ४७ अर्ब ६१ करोड ६८ लाख ३५ हजार रुपैयाँको निर्यात भएको थियो ।
व्यापारघाटा भने १० प्रतिशतले घटेर ४ खर्ब ७६ अर्ब १६ करोड ८३ लाख ५ हजार भएको भन्सार विभागको तथ्यांक छ ।
गत वर्ष सो अवधिमा व्यापारघाटा ५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो । पाँच महिनामा मुलुकमा सामान आयातवापत १ खर्ब ५० अर्ब ८९ करोड ५० लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ ।
पाँच महिनामा सबैभन्दा धेरै ५९ अर्ब ६९ करोड रुपैयाँ बराबरको खनिज इन्धन, ४५ अर्ब २१ करोड ५३ लाख ७० हजार रुपैयाँ बराबरको आइरन स्टील आयात भएको छ ।
यस्तै ४४ अर्ब ५३ करोड ९६ हजार रूपैयाको विद्युतीय मेसिनरी सामान र ३६ अर्ब रुपैयाँको सवारी साधनको पार्टपुर्जा आयात भएको तथ्यांक छ ।
त्यसैगरी ३३ अर्ब ३९ करोड ३५ लाख४ हजार रुपैयाँ बराबरको खाद्यान्न, २५ अर्ब ९ करोड १२ लाख ४ हजार रुपैयाँको तामा आयात भएको छ ।
यस्तै, ६ अर्ब ७६ करोड १८ लाख ७१ हजार रुपैयाँको चिनी आयात भएको छ । नेपालबाट चिया, अलैँची, अदुवा, पस्मिना, कार्पेट निर्यात भएको छ ।
यो अवधिमा भारतबाट ३ खर्ब ४५ अर्ब ६९ करोड ९२ लाख ८५ हजार रुपैयाँको आयात भएको छ । भारततर्फ ३५ अर्ब ३६ करोड ५६ लाख ५६ लाख ५० हजार रुपैयाँको निर्यात भएको छ ।
सो अवधिमा चीनबाट ७७ अर्ब ४६ करोड २२ लाख ५ हजार रुपैयाँको आयात भएको छ भने ३८ करोड ७० लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्