
प्रकाश नेपाल, सन्तोष पुर्कुटी
इलाम/ताप्लेजुङ । नेकपाको शिर्ष नेतृत्वमा पुगेका झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्ला इलामका मतदाताहरू निराश भएका छन् । राजनीतिक स्थायित्वको चाहनाले पाँच वर्षका लागि सरकार चलाउन दिएको मतमाथि कुठराघात हुँदा देशभरकै मतदाता निराश भएका छन् ।
दुई तिहाइ बहुमत पाएको नेकपाको सरकारले देश र जनताको पक्षमा सुशासन र समृद्धि निर्माणको लागि छलाङ मार्छ भन्ने इलामेलीहरूको आशामाथि तुषारापात हुँदा उनीहरू निराश भएका छन् । सृजनशील काम भन्दा भएकै संरचनालाई खल्बल्याउने काममा नेताहरू अग्रसर हुँदा र मुल्यवान मत त्यसै खेर जादा उनीहरूको मन अमिलो भएको छ । आफ्ना नेतालाई मत हालेर जिताउँदा इलामेलीहरू जति खुशी थिए अहिले त्यति नै दुःखी भएका छन् ।
चुनाव ताका गरेका बाचा पूरा हुन नपाउँदै प्रतिनिधि सभा विघटन भएपछी इलामवासीका पीडा झनै थपिएका छन् । इलामबाट दुवै क्षेत्रमा नेकपाका नेताहरूले प्रतिनिधित्व गरिरहेका थिए । इलामको क्षेत्र नम्बर १ बाट झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट सुवास नेम्वाङको प्रतिनिधित्व छ । खनाल लगातार पाँच पटक सांसद भई प्रधानमन्त्रीसमेत बनिसकेका छन् भने नेम्वाङ पूर्वसभामुख हुन् । दुवै नेताले इलामको विकासका लागि केही गर्छन् भन्ने आशा गरेर मतदान गरेका मतदाताहरू अहिले भने आफ्नो मतमथि राजनीति भएको टिप्पणी गर्न थालेका छन् ।
इलामका चिया पसलदेखि चोक चोकमा हुने जमघटमा अहिले यस्तै कुरा सुन्न सकिन्छ । निर्वाचन ताका वामगठबन्धन बनाएर जनतासँग भोट माग्दा होस् वा पार्टी एकता गरेर जनताको सपना पूरा गर्ने बाचा गर्दा होस्, नेकपाले एक पछि अर्को सपना देखाएको थियो । उच्च नेतृत्वमा भएको महत्वकांक्षाले गर्दा देश र जनताप्रति कुठराघात भएको उनीहरूको बुझाइ छ ।
संसद विघटनपछि उत्पन्न जटिल परिस्थितिसँगै सत्तारुढ नेकपा औपचारिक विभाजनतर्फ उन्मुख हुँदा नेकपाका कार्यकर्ता मात्र हैन आम जनता रुष्ट भएका छन् । त्यसमा पनि नेकपाको उच्च नेतृत्वमा पुगेका इलामका दुई नेतृत्वमाथि इलामेलीहरूको ठूलै भरोसा थियो । तर, सबै भरोसा अहिले भत्किएको छ ।
दुई तिहाइ नजिकको सरकार बनेसँगै ताप्लेजुङका नागरिकले पनि विकास र समृद्धिको अपेक्षा गरेका थिए । निर्वाचनका समयमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएर झण्डै दुई तिहाई जनमत प्राप्त सरकार आए सँगै नागरिकमा उत्साह छाएको थियो । तर अहिले बीचैमा संसद विघटन भएर राजनीतिक घटनाक्रम अर्कैतिर मोडिए पछि उनीहरूमा निरासा छाएको हो ।
स्थायी सरकारका लागि मतदान गरेर पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिँदा पनि नेतृत्वले मतदातामाथि अपमान गरेको ताप्लेजुङबासीको बुझाइ छ । प्रधामन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको चाहना बिपरित काम गरेको ताप्लेजुङबासीको आरोप छ ।स्थानीय स्तरका राजनीतिककर्मीहरू पनि संसद विघटनले सन्तुष्ट छैनन् । सरकारको नेतृत्व गरेको पार्टी भित्रको कलहका कारण संसद विघटन हुनु र मुलुक फेरि चुनावको स्थितिमा पुग्नु दुःखदायी भएको राजनीतिककर्मीको भनाइ छ ।
संसद विघटन संगै लामो समयदेखि स्थिर सरकारको नेतृत्व नपाएका सर्वसाधरण नागरिक आफ्नै मतको विश्वास नगर्ने अवस्थामा पुग्नु दुखदायी कुरा हो । दशकौं देखिको राजनीतिक घटनाक्रमले पिल्सिएका सर्वसाधरण नागरिक आफूले मत दिएर झण्डै दुई तिहाइको सरकार बनाउँदा पनि अझै सुख पाएनन् । अब मुलुकको राजनीति प्रति नागरिकमा देखिएको अविश्वास र निरासा पन्छाउन राजनीतिक पार्टी र तिनका नेताले बेलैमा सोच्ने बेला आएको छ ।
प्रतिक्रिया दिनुहोस्