
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र लगायतका परिवर्तनलाई धरापमा पारेको आरोप लगाएका छन् ।
पार्टी विभाजनपछि राजधानीमा शुक्रबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा नेतात्रय पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले ओलीका असंवैधानिक कदम निरंकुशतातर्फ बढिरहेको जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले संघीयता र गणतन्त्र विरोधी ओलीले लोकतन्त्रको हत्या गरेको आरोप लगाउँदै प्रतिनिधिसभा विघटनको दिन इतिहासको कालो दिन भएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्ने तथा निर्वाचन आयोगले संविधानको मर्म र निर्वाचन ऐनको व्यवस्था अनुसार आफूहरूलाई आधिकारित नेकपा पुष्टि गर्ने दाहालको विश्वास थियो ।
नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालले ओलीले कुन दिन कम्युनिष्ट आन्दोलन नै सिध्याउने हो भन्ने चिन्ता लागेको बताउनुभयो । तत्कालिन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू झलनाथ खनाल, अमृतकुमार बोहोरालगायत नेताहरू साक्षी रहेको स्मरण गर्दै नेता नेपालले ओलीमा गणतन्त्रको अपनत्व छैन भन्नुभयो ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालले केपी ओली रीसइबी साध्ने व्यक्ति हुन भन्दै ओलीलाई गोमन साँपसँग तुलना गर्नुभयो ।पत्रकार सम्मेलनमा नेताहरूले प्रधानमन्त्री ओलीबाट अध्यक्ष दाहाललगायत नेताहरूको अपमान गरेको गुनासो पनि गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्