
सुरेन्द्र भण्डारी/डोलराज रानाभाट
झापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान भएको र राजनीतिक स्थायित्वको लािग पाँच वर्षको लागि सरकार सञ्चालन गर्न दिएको कार्यभार पुरा नगरेको भन्दै झापा र चितवनमा विरोधमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको चौतर्फी बिरोध भइरहेका बेला उहाँकै गृह जिल्ला झापाका नागरिकले समेत ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध गरेका छन् । ओलीले लोकतन्त्रकै धज्जी उडाएको र आफ्नो मतमाथि अपमान भएको भन्दै लोकतन्त्रको रक्षा गर्नसमेत उनीहरूले आग्रह गरेका छन् । आफ्नै गृह जिल्लाका सर्वसाधरणले प्रधानमन्त्री ओलीको विरोध गर्दै असंवैधानिक कदम चालेको भन्दै सडकमा प्रर्दशन गरिरहेका छन् ।
लोकतन्त्रको रक्षा गर्दै समृद्ध मुलुक निर्माणका लागि काम गर्नुपर्न ओलीले स्वेच्छाचारी र आफू अनुकुलका निर्णय गरेर मुलुकलाई बवार्दीमा लगेको झापाका नागरिक समाजका अगुवाहरूको भनाइ छ । प्रधानमन्त्री ओलीबाट विकासको आशा गरेको भए पनि त्यसमा तुषारापात भएको आरोप लगाएका छन् ।
झापावाासीकै मत पाएर प्रधानमन्त्री जस्तो गरीमामय पदमा पुगे पनि उहाँले आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा मात्रै बजेट थोपरेको स्थानीयको आरोप छ । झापाका अन्य क्षेत्रको विकासमा प्रधानमन्त्री ओलीले चासो नदिएको जिल्लावासीको गुनासो छ । मत दिएर जिताउँदा जति खुशी भए पनि अहिले त्यति नै दुखिछन् उनीहरू ।
यस्तै, चितवनका सर्वसाधरण पनि मुलुक मुठभेडतिर गएको भन्दै निराश हुन थालेका छन् । आफ्ना नेता पुष्पकमल दाहाललाई भारी मत दिएर मुलुककै नेतृत्वमा पठाउँदा जति खुशी थिए, उनीहरूमा त्यति खुशी अहिले देख्न पाइँदैन । पद र प्रतिष्ठाका लािग जनताको मतमाथि नेतृत्वले खेलेको भन्दै राजनीतिको नाममा देशको ढुकुटी सिध्याएको उनीहरूको आरोप छ ।
अस्थिरताको कारण मुलुकको विकास हुन नसक्दा एउटै पार्टीलाई दुईतिहाइ मत दिएका जनता अहिले आफ्नो मतमाथि नेताहरूले कुठाराघात गरेको बताइरहेका छन् । उच्च नेतृत्वको सुझबुझ नहुँदा अहिलेको परीस्थीति सिर्जना भएको उनीहरूको तर्क छ । त्यसैले, अब पनि मुलुकको राजनीतिप्रति सर्वसाधारणमा देखिएको अविश्वास र निराशालाई हटाउन राजनीतिक दल र नेतृत्व चुकेको खण्डमा लोकतन्त्रकै गरीमामा आँच पुर्याउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्