१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तत्काल कुनै समूहमा नलाग्ने गौतमकाे अडान


0
Shares

काठमाडौं । नेकपा विभाजन भए पनि कुनै पनि समूहमा नगएका उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो समूहमा ल्याउन ओली र दाहाल–नेपाल समूहले प्रयास गरिरहेका छन् । तर, गौतम भने आफू तत्काल कुनै पनि समूहमा नलाग्ने बरू एकताको पक्षमा उभिएको बताउनु भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका नेता गौतमले संसद विघटनको विरोध र एकताको पक्षमा रहेको भन्दै दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहमा आउन गरेको आग्रह अस्वीकार गर्नुभयो । प्रचण्डले पार्टी विभाजनपछि आफूहरूले गरेका गतिविधि र आन्दोलनका बारेमा जानकारी गराएर गौतमलाई आफ्नो पक्षमा लाग्न आग्रह गर्नुभएको थियो । तर, गौतमले दुवै समूहलाई थप तिक्ततापूर्ण सम्बन्ध नबाउन आग्रह गर्दै आफू दुवै समूहसँग संवादमा रहने बताउनुभएको थियो ।

यता विघटन पछि केही दिन आफ्नो कित्ता स्पष्ट नगर्नुभएका गृहमन्त्री रामबहादुर थापा भने ओली समूहमा आफूलाई उभ्याइसक्नुभएको छ । संसद विघटन पछि दुई समूहमा विभाजित नेकपा अहिले आफूलाई आधिकारिकता दिने लडाईंमा छन् । यसैबीच दाहाल–नेपाल समूह प्रधानमन्त्री ओलीको कदम विरुद्ध सडकमा ओर्लिएको छ । प्रधानमन्त्री ओलीले भने आफूलाई साथ दिएका केही पूर्वमाओवादी नेतालाई मन्त्री बनाउनुभएको छ ।