
काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरूले पछिल्लो २ महिनामा फलामको मूल्य प्रतिकिलो ६० प्रतिशतसम्म बढेको बताएका छन् । यसरी अस्वभाविक रूपमा ग्रीलजन्य फलामको मूल्य बढेको कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले ग्रील जन्य फलामको मूल्य अत्याधिक अनियन्त्रित र अस्वभाविक रूपमा बढेको बताएका हुन् ।
महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोरोनाका कारण बन्द भइ मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थको मूल्यमा भएको बृद्धि भन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उहाँको भनाइ छ ।
अध्यक्ष कटुवालले बजारमा देखिएको अस्वभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । यसरी अस्वभाविक रूपमा मुल्य बढ्दा देशभरी सञ्चालित ११ हजार भन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेका व्यवसायीहरूको भनाइ छ । नेपालमा ग्रील व्यवसायले मात्रै वार्षिक ५० अर्ब बढीको ग्रील जन्य सामग्रीको उत्पादन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्