१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी ९ विकेट र एपीएफ २ सय ४ रनले विजयी


0
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । दाङ्गको लमहीमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा लुम्बिनीले प्रदेश नं २ र एपीएफले कर्णाली प्रदेशलाई हराएको हो ।

पहिलो खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो जित निकाल्यो । ७७ रनको सामान्य लक्ष्य लुम्बिनीले १ विकेट गुमाएर २३ बल अगावै पुरा गर्यो । यसअघि पहिले ब्याटिङ्ग गरेको प्रदेश २ ले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ७७ रन बनायो । प्रदेश २ लाई सस्तैमा समेट्न लुम्बिनीकी सुस्मिता भुसालले सर्वाधिक ३ विकेट लिइन् ।

दोस्रो खेलमा एपीएफले कर्णालीमाथि २ सय ४ रनको फराकिलो जित निकाल्यो । २ सय ३६ रनको बिशाल लक्ष्य पछ्याएको कर्णाली १४ ओभर १ बलमा ३१ रनमा समेटियो । कर्णालीका कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न एपीएफकी करुणा भण्डारीले ५, राजमती ऐरीले २, सोनु खड्का र रेखा रावलले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको एपीएफले निर्धारित ओभरमा ४ विकेट गुमाएर २ सय ३५ रन बनायो । सिता राना मगरले ६८ रन बनाएको ईनिङ्समा सरिता मगर ४४ रनमा अविजित रहिन् । कर्णालीकी दिक्षा पुरीले २ तथा निशा पराजुली र अन्जु गुरुङ्गले समान एक एक विकेट लिईन् । समूह एको खेलमा एपीएफ र लुम्बिनीले जित निकाल्दै समान ३ अंक जोडेका छन् ।