
काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले पार्टी एकता जोगाउन बाधा पुगेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजिक पत्रकार भेटघाटमा उहाँले पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको खुलासा गर्नुभयो । नेता गजुरेलले भन्नुभयो, ‘पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्यो ।’
नेता गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । उहाँले एकाअर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलोज र टीकाटिप्प्णी रोक्न दुवै समूहलाई आग्रह गर्नुभयो ।
नेता गजुरेल संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटिपूर्ण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजीविनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटिपूर्ण छ ।’
पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्नुभयो ।एकता कायम राख्न बालुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्