१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा


0
Shares

काठमाडौं । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ ।

आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क सङ्कलन एकाइको शनिबार उद्घाटन कार्यक्रममा अध्यक्ष ज्ञवालीले पहिलो चरणमा भूमिहीन, सुकुम्बासीलाई चैतबाट जमिनको लाजपुर्जा वितरण गर्ने गरी काम अगाडि बढेको बताउनुभयो ।

पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्याङ्क सङ्कलन, जग्गाको नापजाँच गरिसक्ने र चैतबाट पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः अगाडि बढाउँदै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पुर्जा वितरणको काम थालनी गर्ने योजना रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै विगतमा बनेका आयोगजस्तो समस्या नआउने उहाँले बताउनुभयो ।

आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै आयोग पुर्जा वितरणको काममा सफल हुने बताउनुभयो ।

वन ऐनसँग बाझिएको भन्ने कुरा आएको भए पनि भूमि ऐन पछिल्लो भएकाले पछिल्लो ऐनलाई आधार मानी काम अगाडि बढाइने उहाँले बताउनुभयो ।

वन ऐनमा अप्ठ्यारो पार्ने, बाझिने केही विषय भए अहिलेको परिस्थितिअनुसार संशोधन गरेर व्यावहारिक बनाउँदै अगाडि बढ्नुपर्नेसमेत उहाँले बताउनुभयो ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशमा कावासोती नगरपालिका र कास्कीको रुपा गाउँपालिकामा सबैभन्दा पहिला आयोगले सम्झौता गरी काम शुरु गरेको हो ।रासस