
अक्कल कुँवर (ईमेज)
काठमाडौं । नेपालका राजनीतिक घटना क्रमहरूमा अक्सर विदेशी शक्तिहरू पनि जोडिने गर्दछन् । दक्षिणको छिमेकी भारतमाथि यस्तो आरोप लाग्ने गरेको छ । तर, पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक संसद विघटन गरेपछि उत्पन्न परिस्थितिमा भने उत्तरी छिमेकी चीनको चासो पनि देखिने गरी बढेको पाइन्छ ।
प्रतिनिधि सभा विघटनपछि चिनियाँ राजदूत नेताहरूका घर–घर धाइरहेको बेला चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली पनि नेपाल आइपुगेको छ । भारतबाट पनि निकट भविष्यमै उच्च अधिकारीकोे भ्रमण हुने चर्चा चलेको छ । यसलाई नेपालमा प्रभाव जमाउने दुई छिमेकीबीचको टकरावको रूपमा हेर्न थालिएको छ ।
गत कार्तिकमा भारतको खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलको छापामार शैलीको नेपाल भ्रमणसँगै लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिएको सत्तारुढ नेकपा विभाजनको रेखा कोरिन सुरु भएको हो । गोयलपछि भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, विदेश सचिव श्रीहर्ष श्रृङ्गला हुँदै सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले श्रृङ्खलाबद्ध रूपमा भ्रमण गरे । यी उच्चस्तरीय भ्रमणबाट भारतले नेपालको राजनीतिलाई आफू अनुकुल बनाउने कोसिर गर्यो ।
दक्षिणको श्रृङ्खलाबद्ध उच्चस्तरीय भ्रमणलाई नजिकबाट हेरेको चीनले पनि आफ्ना रक्षामन्त्री वेइ फेङ्हेलाई भारतका विदेश सचिवको भ्रमण लगत्तै काठमाडौं पठायो । दुई छिमेकीबीच उच्चस्तरीय भ्रमणको प्रतिष्पर्धा र नेकपाभित्रको विवाद उत्कर्षमा पुगेसँगै प्रतिनिधि सभा विघटन हुनुका साथै सत्तारुढ नेकपा विभाजन भयो । राजनीतिज्ञहरूले संसद विघटन र नेकपा फुट अन्तराष्ट्रिय शक्ति संघर्षकै परिणाम भएको जिकिर गरेका छन् ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमँगै दुवै छिमेकी आफ्नो प्रभाव जमाउन केन्द्रित भएका छन् । प्रतिनिधि सभा विघटनसँगै विभाजनको दिशामा अघि बढेको नेकपाको विभाजन रोक्न चिनियाँ राजदुत होउ यान्छीले भरमजदुर प्रयास गरेको विषय कसैबाट छिपेको छैन । आप्mनो दौडधुपले काम नगरेपछि राजदुत यान्छीले बेइजिङ गुहारेको विश्लेषण गरिँदैछ । परिणामस्वरुप चिनियाँ कम्युष्टि पार्टीका विदेश विभागका एक उच्च अधिकारीको नेतृत्वमा एक टोली काठमाडौं आएको छ । कुटनीतिज्ञ प्रा.डा. लोकराज बरालले आन्तरिक राजनीति तरल भइरहेको अवस्थामा छिमेकीबाट उच्चस्तरीय भ्रमण अस्वभाविक भएको टिप्पणी गर्नुहुन्छ ।
यो टकरावले नेपालको राजनीतिमा उत्तर वा दक्षिण कुन छिमेकी हावी होला भन्ने चासो बढेको छ । कुटनीतिज्ञ बराल भने नेपालको राजनीतिमा चीन र भारतको मात्र नभई पश्चिमाहरूको पनि चासो रहेको बताउनुहुन्छ । कुटनीतिज्ञ तथा राजनीतिज्ञहरुले दुवै छिमेकी नेपालमा आफ्नो प्रभाव कायम राख्न कोसिस गर्ने बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले आफ्नो अनुकुल रहेको विश्लेषण गर्दै पछिल्ला वर्षहरूमा नेपालको राजनीतिमा खस्किएको प्रभावलाई पूर्ववत् रूपमा फर्काउने कोसिस गरिरहेको छ । यता, उत्तरी छिमेकी चीन ठूलो जोड पछिल्ला वर्षहरूमा नेपालको निकटता र प्रभावलाई कायम राख्नको लागि विभाजन भएको नेकपालाई जोड्ने कोसिस रहने राजनीतिज्ञ तथा कुटनीतिज्ञको विश्लेषण छ ।
स्थानीयदेखि केन्द्रसम्म झण्डै दुई तिहाई जनमत भएको पार्टी दुई टुक्रा भएसँगै भारतको लागि परम्परागत प्रभाव फर्काउने सूवर्ण अवसर बनेको छ भने पछिल्ला वर्षमा नेपालको राजनीतिमा आफ्नो प्रभाव बढाउँदै लगेको चीनलाई झड्का लागेको छ । त्यही झड्कालाई मत्थर पार्ने कोसिसमा चीन पनि लागि परेको बुझ्न कठीन छैन ।
प्रतिक्रिया दिनुहोस्