
काठमाडौं । नेकपा दाहाल-नेपाल समुहले संसद विघटनको विरोधमा उपत्यकाका विभिन्न १३ ठाउँबाट जुलुस निस्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समुहले आज देशैभर विरोध प्रदर्शन गरेको छ ।
उपत्यकामा टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्सालबाट जुलुस निस्किएको छ । त्यस्तै रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निस्किएको छ । उपत्यकाबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, बेदुराम भुसाल, पम्फा भुसाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई, अमृत बोहोरा, गिरिराजमणि पोखरेल र गणेश शाहले गरेका छन् ।
जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नेछन् । विभिन्न जिल्लाबाट पनि जुलुस आउने नेकपा दाहाल-नेपाल समूहले जनाएको छ । आज ५० हजार कार्यकर्ता विरोध प्रदर्शनमा उतार्ने नेताहरुले दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्