
राजेश जिसी
प्यूठान । प्यूठान नगरपालिका, झिमरुक गाउँपालिकालगायतका किसानले व्यावसायिक रूपमा मौसम, सुन्तला र किवी खेती गर्न थालेको लामो समय भयो । तर, यस वर्ष कोरोना महामारीका कारण किसानलाई उत्पादित फलफूल बिक्री गर्न समस्या भएको छ ।
प्यूठान नगरपालिका छेपानीका रुमलाल रोका मगर केहि वर्षदेखि व्यावसायिक फलफूल खेतीमा तल्लीन छन् । दैनिक सुन्तला र मौसमको स्याहारमा व्यस्त उनको बारीमा लटरम्म फलफूल फलेको देख्न सकिन्छ । गतबर्ष मात्रै सुन्तला र मौसम बिक्रिबाट झण्डै ३ लाख रुपैयाँ आम्दानी गरेका उनी यस वर्ष भने उत्पादित फलफूल बिक्रि नहुँदा निराश छन् ।
परम्परागत रूपमा मकै, गहुँ जस्ता खाद्यान्न बाली उत्पादन गर्दा आम्दानी घटेपछि नगदेबाली तर्फ लागेका छेपानी गाउँका किसानहरू फलफूल खेतीबाट पनि दिक्क भएका छन् । प्रत्येक किसानको बारीमा २० देखि ५ सय बोटसम्म सुन्तला तथा मौसमका विरुवा लगाएका छन् । त्यसबाट जिल्लाभर करिब २० मेट्रिक टन फलफूल उत्पादन हुने गरेको छ ।
फलफुल उत्पादनका लागि राम्रो सम्भावना भएकाले प्यूठान नगरपालिकाले छेपानीलाई फलफूल पकेट क्षेत्र समेत घोषणा गरेको छ । तर, स्थानीय स्तरमा उत्पादन भएका फलफूल बिक्री नभएर फाल्नुपर्दा किसालाई घोषणाले पीडा दिएको छ । जिल्लामा उत्पादन भएको फलफूलको बजारीकरणमा स्थानीय तहले सहयोग गरे किसानहरूलाई खेतीतर्फ अझ आकर्षित गर्न सकिन्थ्यो की ?
प्रतिक्रिया दिनुहोस्