
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ सँग लज्जास्पल हार बेहोरेको छ ।
दाङको लमहीमा जारी प्रतियोगितामा गण्डकी प्रदेश १ विरुद्ध ७ रनमा अल आउट भयो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन बनाएर अल आउट भएको हो ।
१ सय ४० रनको फराकिलो पराजय भोग्ने क्रममा गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका ९ खेलाडी शून्य रनमा आउट भए ।
यसअघि पहिला ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । योसँगै प्रदेश १ समूह बी बाट विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ ।
यस्तै, आजै भएको पहिलो खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । स्पिनर कविता जोशीले ह्याट्रिक सहित पाँच विकेट लिएपछि सुदुरपश्चिमले बागमतीलाई सहज रुपमा हराउन सफल भयो ।
जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सक्यो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।
योसँगै सेमिफाइनल प्रवेश गर्ने सबै टिमको टुङ्गो लागेको छ । प्रदेश १ र सुदूरपश्चिम समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्दा समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी सेमिफाइनलमा पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्