१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जिल्ला भलिबल संघ कपकाे उपाधि सानीभेरीलाई


0
Shares

रुकुम पश्चिम । सदरमुकाम मुसीकोटमा सञ्चालित प्रथम जिल्ला भलिबल संघ कप सानीभेरी गाउँपालिका–७ ले हात पारेको छ । खलङ्गास्थित बह्राटाकुरामा बिहीबार भएको फाइनल खेलमा बाँफिकोट गाउँपालिका–५ लाई ३–१ को सोझो सेटमा पराजित गर्दै सानीभेरी–७ ले उपाधि जितेको हो । उपाधिसँगै सानीभेरी–७ ले कप र नगद ५१ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

त्यस्तै उप–विजेता बाँफिकोट–५ ले ट्रफि र नगद ३१ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा तेस्रोस्थान ल्याएको त्रिवेणी–८ ले नगद २१ हजार र ट्रफि प्राप्त गरेको छ । विजेता, उप–विजेता र तेस्रो हुने वडाका खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको जिल्ला भलिबल संघका अध्यक्ष मोहनकुमार चन्दले जानकारी दिनुभएको छ ।

यसैबीच प्रतियोगिताबाट पाँच वटा व्यक्तिगत इभेन्टमा पनि खेलाडीहरू पुरस्कृत गरिएको छ । जसमा उत्कृष्ट खेलाडी सानीभेरी–७ का गणेश बुढाथोकी, उत्कृष्ट स्पाइकर बाँफिकोट–५ का सुजन चन्द, उत्कृष्ट सर्भर सानीभेरी–७ का नवीनकुमार बोहरा उत्कृष्ट डिफेण्डर बाँफिकोट–५ का डम्बर केसी र उत्कृष्ट सेटर त्रिवेणी–८ का रोशन खड्का हुनुभएको छ ।