
काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तय गरेको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो ४ बजे बस्ने राष्ट्रिय सभाको पहिलो बैठकको सम्भावित कार्यसूची तय गरेको हो ।
बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र राष्ट्रिय सभा अध्यक्षले पढेर सुनाउने, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै राष्ट्रिय सभाका अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश २०७७ अनुमोदनका लागि पेश हुनेछ भने अधिवेशनको पहिलो बैठक भएको हुनाले संसदीय दलका नेताहरुले मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७७ पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्