
तेह्रथुम । जिल्लाका स्थानीय तहले खरको छाना विस्थापित कार्यक्रम सुरु गरेका छन् । खरको छानो विस्थापित भएपछि विपन्नका घरमा टिनका छाना टल्कन थालेका छन् ।
लामो समयदेखि खरको छानामुनि बसेका विपन्न परिवारलाई स्थानीय तहहरूले जस्तापाता उपलब्ध गराएपछि विपन्न परिवारमा खुसी छाएको छ । तेह्रथुमको फेदाप गाउँपालिकाका सबै विपन्न परिवारका घरमा अहिले जस्तापाता टल्कदा गाउँको रौनक नै बेग्लै देखिन्छ ।
यहाँका घर पहिले खरको छाना हुँदा पानी चुहिने समस्या थियो । पानी पर्दा छानो चुहिएर आधा रातमा उठेर भाँडा थाप्नुपर्ने बाध्यता थियो । तर, अहिले गाउँपालिकाले जस्ता पाता दिएपछि पानी चुहिने समस्याबाट यस बस्तीका वाासिन्दाले मुक्ति पाएका छन् ।
गाउँपालिकाले सबै वडामा रहेका विपन्न नागरिकका फुसको छाना भएका घरहरूको तथ्याङक संकलन गरी अभियान सुरु गरिएको हो । संघीय सरकारले फुसको घर विस्थापित गर्ने कार्यक्रम ल्याउनु पहिले नै स्थानीय सरकारले निती तथा कार्यक्रममा समावेश गरी अभियान सुरु गरेको थियो । गाउँपालिकाका १ सय ४२ वटा घरमा भएको खरका छाना विस्थापित गर्दै टिनको छाना लगाइएको गाउँपालिकाका प्रवक्ता नवीनचन्द्र चोङबाङले जानकारी दिनुभयो ।
घरका छाना विस्थापन गर्ने नीति स्थानीय तहले लिएसँगै अहिले जस्तापाताका छाना टलल्क टल्किँदा गाउँघरनै उज्यालो देखिएको छ । गाउँपालिकाले गरिब तथा विपन्न परिवारका लागि जस्तापाता दिन थालेपछि गाउँघरमा आगलागीको डर समेत कम हुने विश्वास गरिएको छ ।
यस्तै, प्रत्येक वर्ष घर छाउनुपर्ने झन्झटको पनि अन्त्य भएको छ । गाउँपालिकाले विकास निर्माणको काम छोडेर पनि विपन्न जनताको घर छाउने अभियानलाई अगाडि बढाएपछि स्थानीयले ढिलै भए पनि स्थानीय तहमा सरकार भएको महसुस गर्न पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्