
काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस भएको छ ।
शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
गत साउन ८ गते वर्षे अधिवेशन स्थगित भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको असर प्रदेश सरकारमा देखा परिसकेको अवस्थामा मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक बोलाउन सिफारिस गरेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस गरिएको हो ।
दाहाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेतामा चयन गरेको छ । मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आउनुभएको छ।
प्रतिक्रिया दिनुहोस्