
दिपेन्द्र अधिकारी
काठमाडौं । कोरोना भाइरस लिएर प्रवेश गरेको सन् २०२० हामीबाट विदा भएको छ । मानव जातिको गति नै रोकिदिएको २०२० ले विश्व जगतलाई कहाली लाग्दो छाप छाडेर विदा भएको हो ।
सन् २०१९ को डिसेम्बरको अन्तिम दिन पहिचान भएको कोरोना भाइरस अर्थात् कोभिड–१९, सन् २०२० भरी नै न्यूजमेकर्स बन्यो । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वका २ सय १० भन्दा बढी मुलुकमा फैलिँदा विश्वभर ८ करोड ८ लाख भन्दा बढी मानिस संक्रमित हुदाँ १७ लाख ६६ हजार भन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
नेपालमा पहिलो संक्रमण चीनबाट आएका एक विद्यार्थीमा माघ ९ गते देखिएको थियो भने दोस्रो संक्रमण चैत १० मा देखियो । लगतै सरकारले चैत ११ गतेबाट लकउडानको घोषणा गर्यो । सन २०२० को अन्तिम दिनसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार भन्दा बढी छ भने कोरोनाकै कारण मृत्यु हुनेको संख्या १८ सय नाघेकोे छ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसेकाले सरकाले लकडाउनको औचित्यसमेत पुष्टि गर्न सकेन ।
साउन ८ गतेबाट लक डाउन अन्त्य गरे पनि त्यो समयभन्दा अगाडी नै लकडाउनको प्रतिवाद नागरिक स्तरबाट नै भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै आगामी फागुनसम्म कोरोनालाई पूर्णरूपमा नियन्त्रण गर्न सकिने भविष्यवाणी गर्नुभएको थियो । सरकारले कोरोना नियन्त्रणमा खेलाँची गर्यो । कहिले संक्रमितको उपचार नै गर्न नसक्ने त कहिले व्यवसाय बन्दा हुँदा उठ्नुपर्ने कर नउठ्दा राज्यको ढुकुटी रित्तिएको र अर्थतन्त्र चल्न नसक्ने बतायो ।
गत कार्तिक महिनासम्मका सरकारले कोरोना महामारी नियन्त्रणका लागि राज्यकोषबाट २० अर्ब खर्च गरेको छ । खर्चको मितव्ययिता र प्रभावकारितामाथि भने व्यापक रूपमा प्रश्न उठेको छ । महत्वाकांक्षी योजनाका रूपमा २० लाख पर्यटक नेपाल ल्याउने योजनाका साथ सुरु भएको नेपाल भ्रमण वर्ष २०२० पनि कोरोनाले रोकिदियो । २०२० मा २ लाख २० जना मात्रै पर्यटक नेपाल भित्रिए ।
उता, फोब्र्स म्याजिनले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई पनि समावेश गर्यो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको छ ।
२०२० मा कूल ग्राहस्थ्य उत्पादनमा २ खर्ब क्षति भयो भने १६ लाखले रोजगारी गुमाए । १२ लाख गरिब थपिएको योजना आयोगद्धारा गठित सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प हुँदा सन् २०२१ मा नेपाली अर्थतन्त्रको वृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण छ । सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमा सीमित भएको विश्व बैंकको अनुमान छ ।
सन् २०२० मै नेपालको संसदले नयाँ सभामुखको रूपमा अग्नि सापकोटालाई पायो । ललिता निवास जग्गा अनियमितामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारसहित १ सय ७५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गर्यो । सो विवादमा मुछिनुभएको अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेललाई भने जग्गा फिर्ता गर्ने सर्तमा अख्तियारले फाइल अघि बढाएन ।
सेक्युरिटी प्रेस खरिदमा ७० करोड डिल प्रकरणको अडियो सार्वजनिक भएपछि तत्कालीन संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभयो । त्यस्तै प्रधानमन्त्रीको ओलीको दोस्रो पटक मृगौला सफलतापूर्वक प्रत्यारोपण भयो । कोरोना रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर ग¥यो । सो प्रकरणमा मन्त्रीसमेत तानिए ।
कोरोना प्रभावले ई–बैकिङ्ग कारोबारमात्र बढाएन दशैँ लगायत पर्वहरू डिजिटल रुपमा समेत मनाइयो भने श्राद्ध पनि डिजिटल रूपमा गर्ने प्रचलन पनि भित्रियो । शिक्षा क्षेत्र मुखैमा आएर माध्यामिक शिक्षा परीक्षा, कक्षा १२ तथा विश्वविद्यालयका परीक्षा पनि रोकियो । गत चैतमा लकडाउन गरेदेखि बन्द भएका शैक्षिक संस्थाहरु अझै खुलिसकेका छैनन् । जसका कारण देशका करिब ९० लाख विद्यार्थीको शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने आशंका पनि बढेको छ ।
मनोरञ्जन क्षेत्र पनि कोरोनाले शिथिल भयो । गीत संगीत रेकर्डिङ तथा फिल्म तथा म्यूजिक भिडियोको छायाकंन रोकियो । वर्षको सुरुबाट थर्मराएको फिल्म क्षेत्रले लकडाउन पनि ४ अर्बभन्दा बढी घाटा व्यहोरेको अनुमान छ । नेपालमा पनि २५ प्रतिशत फिल्मकर्मी पेशाबाट पलायन भएको छ त्यो संख्या बढ्न सक्ने जनाइएको छ । मनोरञ्जन क्षेत्रले विस्तारै गति लिँदै छ ।
सन् २०२० मा अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रता माथिको आक्रमणमा भने कमी आएको छ । यस वर्ष प्रेस स्वतन्त्रता हननका ९६ वटा घटना भएका छन् अघिल्लो वर्षमा १ सय ११ घटना भएको फ्रिडम फोरमले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ । २०२० मै नेपालमा पहिलो पटक विदेशी च्यानलहरुमा क्लीनफिड लागू भयो ।
दक्षिण एसियाली मुलुकहरूमा सलह आतंकले पनि चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरिएको थियो । भारत हुँदै नेपाल छिरेको सलह संकलन गर्नेलाई स्थानीय सरकाले रकम इनाम दिने घोषणा पनि गरेका थिए । यसवर्ष विगतको सम्झौता कार्यान्वयन नभएको र उखुको भुक्तानी लिन किसानले आन्दोलन गर्नुपर्ने अवस्था आयो ।
पुस ५ गते संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेसँगै नेकपा विभाजित भयो भने राजनीति अस्थिर छ । नयाँ चुवानले थप आर्थिक भार थप्नेछ । गत वर्ष फागुन ७ गते हुने भनिएको नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन कोरोनाको बाहनामा अहिले कांग्रेसको महाधिवेशनको चर्चा सेलाएको छ । महाधिवेशन गर्नुपर्ने जनता समाजवादी पार्टी पनि अलमलमा छ । गत फागुनमा तीन राप्रपा पनि एक भएका छन् भने विवेकशील साझा पार्टी पनि हालै एक भएका छन् ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गर्यो । नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरे । भुकम्पले क्षति गरेको रानीपोखरीको पुनर्निर्माण पनि भएको छ ।
कोरोनाका खोप कम्पनी फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोप पनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्युनीकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई विदाई गरिएको छ । नेपालले पनि करिब २ करोड ५० लाख रसियन भ्याक्सिनको अर्डर गरिसकेको छ । अन्य भ्याक्सिन अर्डर गर्ने बारेमा समेत नेपाली पक्ष सल्लाहमा छ ।
प्रतिक्रिया दिनुहोस्