
प्रदीप आचार्य
बुटवल । फोहोरको उचित व्यवस्थापन हुन नसकेको भन्दै आलोचना खेप्दै आएका रुपन्देहीका बुटवल, सैनामैना र सिद्धार्थ नगरपालिकाको फोहर अब व्यवस्थापन हुने भएको छ । सैनामैना नगरपालिका खोरमोर जंगलकोबीचमा प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु भएको छ । शहरमा बढ्दै गएको फोहोरमैला व्यवस्थापनमा स्थानीय जनताले लामो समयदेखि पटक–पटक सरकारको ध्यानाकर्षण गराएपछि व्यवस्थापनको काम थालिएको हो ।
पूर्व–पश्चिम राजमार्गबाट ५ किलोमिटर भित्र बस्तीबाट केही टाढा प्रशोधन केन्द्र निर्माण गरिने भएको हो । संघीय सरकारको १० करोड रुपैयाँमा निर्माण हुने प्रशोधन केन्द्रमा दीर्घकालीन रुपमा रुपन्देहीका सबै स्थानीय तहसँगै कपिलवस्तुको बाणगगा नगरपालिकाको समेत फोहर ल्याएर प्रशोधन गरिने छ ।
रुपन्देही सहित प्रदेशका धेरै जिल्लामा अहिले पनि फोहर व्यवस्थापन लथालिङ्ग छ । बुटवलको फोहोर तिनाउ नदी किनारमा अस्थायी रुपमा व्यवस्थापन गर्न थालेको करिब दुई दशक भयो । तर अहिलेसम्म दिगो व्यवस्थापन हुन सकेको छैन । बुटवल, सिद्धार्थ नगरपालिकामा फोहर व्यवस्थापनमा ध्यान नदिएको भन्दै बेलाबेलामा विरोध पनि हुने गरेको छ । सैनामैना नगरपालिकाले भने जम्मा भएका फोहोरलाई प्रशोधन गरेर सफा र सुन्दर शहरको अवधारण अघि सारेको मेयर छ चित्र बहादुर कार्कीले बताउनुभयो ।
फोहोर मैला प्रशोधन केन्द्रको निर्माणको लागि अहिले प्र्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको छ । संघीय सरकारको सहयोगमा हुने यो प्रशोधन केन्द्रमा अहिले खोला रोक्नका लागि तारजाली लगाइसकिएको छ भने निर्माणको कामलाई तीव्रता दिइएको सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।
फोहर व्यवस्थापन तथा प्रशोधन केन्द्र २ वर्षभित्र तयार भइसक्ने सैनामैना नगरपालिकाको जनाएको छ । हाल सैनामैनामा प्रतिदिन १० टन, बुटवलमा ५० टन फोहर उत्पादन हुँदै आएको छ । तर, बुटवलबासी प्रशोधन केन्द्र कहिले निर्माण होला र शहरमा देखिएको फोहोर व्यवस्थापन होला भन्ने प्रतिक्षामै छन् ।
प्रतिक्रिया दिनुहोस्