७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बझाङमा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको मृत्यु


0
Shares

डीबी विष्ट (इमेज)

बझाङ, साउन ५ । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर–६, बयानामा पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ । अरु दुईजना घाइते छन् ।

पहिरोमा परी खप्तड छान्ना गाउँपालिका–६, बयानाका ४५ वर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा र उनका ६ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको जनाइएको छ ।

यस्तै, सोही ठाउँका २० वर्षीय मंगल थापाको पनि सोही पहिरोमा परी मृत्यु भएको छ । पहिरोमा परी स्थानीय ५ वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् ।

शनिबार मध्याह्न १२ बजेतिर गाउँनजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महेश्वरी थापा वडा नम्बर–६ की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ । गाउँ शोकमा डुबेको छ ।