१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसमा दुई धार, अबकाे तयारी चुनाव कि आन्दोलन ? (भिडियो)


0
Shares

रोमन आचार्य
काठमाडौं । संसद विघटनलाई कसरी लिने भन्ने विषयमा विवादमा फसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र दुई धार स्पस्ट देखिएको छ । संसद पुनःस्थापनाका लागि अन्य दलहरुसँग आन्दोलनमा जाने वा मध्यावधि निर्वाचनको तयारी गर्ने भन्ने धुव्रमा कांग्रेस बाँडिएको हो ।

सभापति देउवा निकटको संस्थापन पक्ष सर्वोच्चमा पुगेको विषयमा आन्दोलन गर्नु औचित्यपूर्ण नहुने तर्क गरिरहेको छ भने वरिष्ठ नेता पौडेल समूह भने पुनःस्थापनालाई प्राथमिकतामा राख्नु पर्ने पक्षमा छ ।

पुष १३ गते भक्तपुरको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको विषय अदालतमा पुगेकाले सर्वोच्चको फैसला आफूलाइ मान्य हुने घोषणा गर्नुभयो ।

पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा भएको कार्यक्रममा कानुनी राज्यमा विश्वास गर्ने भएकाले सर्वोच्चलाई दबाव र प्रभावमा पार्नेगरी कांग्रेसले आन्दोलन गर्नुको औचित्य नभएको उहाँको तर्क थियो ।

देउवाको सार्वजनिक भाषणले असंवैधानिक भनिएको प्रतिनिधिसभा विघटनलाई खारेज गर्न माग गर्दै कांग्रेस अब सडकमा उत्रने देखिँदैन । तर, पौडेल समूह भने आन्दोलनको बाटो छोड्न नहुने अडानमा छ ।

उसो त कांग्रेसले आमनिर्वाचनको तयारी शुरु गरिसकेको छ । ४ दिन अघि देशभरका १६५ निर्वाचनमा क्षेत्रमा गरिएको कार्यक्रम त्यसैको उदाहरण हो । त्यसैले पनि चुनावका पक्षधरहरु औचित्य पुष्टि नहुने आन्दोलन गरेर फलिफाप नहुने भनिरहेका छन् ।

पौडेल समूह पनि चुनावको विरुद्ध नउभिएको दाबी गर्छ । उनीहरुको ध्येय संसद विघटनको विषयमा सडक तताएर जनमत आफूतिर आकर्षित गर्ने र चुनावको तयारी गर्ने जस्तो बुझ्न सकिन्छ ।
त्यसो त पुस १९ गतेबाट कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । बैठकमा दोस्रो चरणको आनदोलनमा जाने नजाने भन्ने विषयमा केन्द्रीय सदस्यहरुले कुरा उठाउने निश्चित छ ।

आफ्नै नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत र संवैधानिक व्यवस्थालाई लत्याएर संसद विघटन गर्दा पनि कांग्रेस सुस्त हुनुले लोकतान्त्रिक दलको चरित्रमाथी प्रश्न उठेको छ ।

ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेस नेतृत्वभित्र सडकमा समेत साझा धारणा नदेखिनुलाई भने विडम्वना नै मान्नु पर्दछ ।
क्यामरा– भरत केसी