
पोखरा । कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले केही उकासिएको पर्यटन व्यवसायीले बताएका छन् ।
रेष्टुरेण्ट एन्ड बार एसोशियसन (रेवान) ले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विगत २१ वर्षदेखि मनाउँदै आएको सडक महोत्सव यस वर्ष तीन दिनमात्र आयोजना गरी सम्पन्न गरेको छ । रेवानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले सडक महोत्सवले पर्यटन क्षेत्रमा छाएको अन्धकारलाई चिर्न सफल भएको बताउनुभयो ।
सडक महोत्सवले साना तथा ठूला सबै व्यवसायीलाई केही मात्रामा भए पनि उत्साह थपिएको भट्टराईको भनाइ छ । उहाँले अबको पर्यटन उकास्न आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विभिन्न गतिविधि जोड दिनुपर्ने बताउनुभयो ।
रेवानका पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ महामारीका बीच सम्पन्न महोत्सव सोचे भन्दा बढी सफल भएको बताउनुभयो । सडक महोत्सवको क्रममा लेकसाइडमा खुलेका होटलमा करीब ३० देखि ३५ प्रतिशत ‘अकुपेन्सी’ भएको थिए । पोखरामा करीब सात सय होटल छन् ।
प्रतिक्रिया दिनुहोस्