७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मन्त्री सवार गाडीको ठक्करबाट एक जना घाइते, प्रहरीले अफवाह फैलाएको मन्त्रीकाे आरोप


0
Shares

सर्लाही । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।

तामाङको कम्मर र खुट्टामा चोट लागेको र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । प्रत्यक्षदर्शी प्रज्वल ढुंगानाले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले ठक्कर दिने बितिकै आफूहरुले घाइतेको उद्धार गरेको बताउनुभयो । यद्यपि जीप भने फरार भएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गर्नुभयो । मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटनापश्चात घाइतेको उद्दार गर्नुको सट्टा फरार हुनु निन्दनीय भएके भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

यसैबीच मन्त्री साहले रौतहटबाट महोत्तरी जाने क्रममा हरिवन चोकमा आफू चढेको गाडीबाट झुक्किएर लडेको दाबी गर्नुभयो । उहाँले घाइते तामाङलाई केही नभएकाले आफू अगाडी बढेको बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ठक्कर दिएर भागेको भन्दै अतिरञ्जित प्रचार भएको र प्रहरीले पनि अफवाह फैलाएको जिकिर गर्नुभएको छ ।