१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओलीको कटाक्ष– खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टीले गति लियो


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरिरहनु भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको छ ।

सम्बोधनको अधिकांश समय प्रचण्ड र नेपालको आलोचनामा बिताउनु भएका ओलीले उहाँहरूलाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनुभयो । शनिबार आफूपक्षीय काठमाडौं जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले खिया लागेका दुईवटा नटबोल्ट फुक्लिएपछि पार्टी गतिसाथ अघि बढेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट पत्र प्राप्त भएको भन्दै आफूहरूले पार्टी बनाएकाले निवेदन हाल्न जान जरुरी नभएको जिकिर गर्नुभयो । आफूहरुले अझै पनि प्रचण्डहरुलाई बैठकमा बोलाएको र उहाँलाई अध्यक्षबाट नहटाएको उहाँको भनाइ थियो ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उहाँले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरूसँग तुलना गर्नुभयो । अलि–अलि मान्छे रत्नपार्कमा सिसीमा औषधि बेच्नेले भेला गर्ने भन्दै प्रधानमन्त्री ओलीले उहाँहरूको हालत त्यस्तै बन्न पुगेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुनःस्थापित हुन नसक्ने भन्दै निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक ‘कू’ रोक्नका लागि सरकारले संसद विघटन गर्नुपरेको जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले जंगली महत्वाकांक्षा पुरा गर्न र पद प्राप्तिका लागि जुनसुकै कदम चाल्न पछि नहटने दुस्साहस गर्नेहरूका कारण अहिलेको स्थिति आएको टिप्पणी गर्नुभयो ।