४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


बेलायतमा देखिएको भाइरस कोरोना नै हो, नयाँ भाइरस होइन– जनस्वास्थ्यविद् पाण्डे


0
Shares

काठमाडौं । जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरस नै भएको बताउनुभएको छ । त्यहाँ देखिएको भाइरस कुनै नयाँ भाइरस नभएको बताउँदै उहाँले भाइरसको स्वरूप मात्र परिवर्तन भएकोब बताउनुभयो ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गदै उहाँले बेलायतमा स्वरूप परिवर्तन भएर कोरोना भाइरसको नयाँ प्रजाति देखिएको बताउनुभयो । पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्ने उहाँको भनाइ छ ।

डा.पाण्डेले नयाँ कोरोना भाइरसको मृत्युदर पूरानो कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको बताउनुभयो । उहाँले आम सर्वसाधारणलाई नयाँ खतरा भाइरस आयो भन्ने हल्लाबाट टाढा रहन समेत आग्रह गर्नुभएको छ । नयाँ र पूराना किसिमको कोरोना भाइरसको सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै भएको उहाँको भनाइ छ ।

डा. पाण्डेले अन्य व्यक्तिसँग भेट्दा सही तरिकाले अनिवार्य रुपमा मास्क लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट/बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्दा नयाँ स्वरूपको कोरोना भाइरस नसर्ने बताउनुहुन्छ ।

आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निंग वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधि सेवन गर्नेले आफ्नो औषधि नछोड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्दा स्वास्थ्य र काम दुवै सँगसँगै जानेमा उहाँको जोड छ । जेष्ठ नागरिक तथा दीर्घबिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्न उहाँले सुझाव दिनुभएको छ ।

गलत सुचना नै तनाबको स्रोत भएको बताउँदै डा. पाण्डेले आधिकारिक समाचार मात्र हेर्न, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्न आग्रह गनुभएको छ ।