२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लमजुङको विद्युत् उत्पादन आधा घट्यो


0
Shares

लमजुङ । लमजुङमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दा हाल ३४ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार साहले बताउनुभयो ।

साहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै घट्ने क्रममै छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । आयोजनामा विगतको वर्षमा उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

त्यस्तै ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका उत्पादनसमेत घट्न थालेको छ । केही दिनदेखि उत्पादन १२ मेगावाट विद्युत् घटेको र अझै घट्ने क्रममा रहेको बताइएको छ । बर्सेनि विद्युत् उत्पादन घट्ने गरेको र माघ महिनासम्म पुग्दा २८ मेगावाटसम्म मात्र विद्युत् उत्पादन हुने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो ।

जिल्लाका पाँच मेगावाटको सिउरी, ४ दशमलब ४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनामा समेत बिजुली उत्पादन कम हुन थालेको छ ।