
प्रकाश नेपाल
इलाम । प्रदेश सरकारअन्तर्गत इलाम जिल्लाका निर्माणाधीन आधा दर्जन सडक निर्माण तथा स्तरोन्नतीका कार्य समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट नआएका कारण काम गर्न कठिनाइ भएको छ ।
एक नबर प्रदेश सरकार अन्तर्गत इलाम जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि समयमा भुक्तानी नआएको भन्दै निर्माण व्यवसायीले कामको गति सुष्त बनाएका छन् । जिल्लाको राँके देउरालीबाट साढे २६ किलोमिटर सडक २ वटा प्याकेजमा काम भइरहेको छ ।
सडक निर्माणको दुवै प्याकेजका लागि करिब ६० करोड रुपैयाँमा ठेक्का लागेको हो । निमार्ण व्यवसायीका अनुसार हालसम्म साढे ४ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ । समयमा भुक्तानीनै नभएकाले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले कामको तिव्रता घटाउनुपरेको निमार्ण व्यवसायी सन्तोष कटुवालको भनाइ छ ।
यस्तै जिल्लाका अन्य ठाँउमा पनि प्रदेश सरकार अन्तर्गत सडकहरू निर्माणाधीन अवस्थामा रहेका छन् । यी सबै सडकमा पनि नियमित भुक्तानीकै अभावमा लक्ष्य अनुरुप काम हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय झापा मार्फत सञ्चालित योजनाहरूलाई निरन्तरता दिनै समस्या भएको व्यवसायीहरुको भनाइ छ ।
सन्दकपुर गाउँपालिकामा एउटा सडकको ठेक्का भए पनि सम्झौता हुन सकेको छैन । अपेक्षा अनुसार कामले तिव्रता नलिँदा समस्या भएको माङसेबुङ्ग गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो बताउनुहुन्छ ।
सडक सञ्जाल विस्तार गर्दै आवतजावत र सामाग्री ढुवानीमा सहज हुने अपेक्षा स्थानीयवासीको रहेको थियो । बजेट अभावमा समयमानै काम नसकिने भएपछि स्थानीय निराश बनेको छन् ।
प्रतिक्रिया दिनुहोस्