
एजेन्सी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोनाको खोप लगाउन थालिएको छ ।
दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले पहिलो डोज खोप लिएका छन् । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरू पनि रहेका छन् । स्वास्थ्य अधिकारीहरूले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । खोप झण्डै ७९ प्रतिशत प्रभावकारी रहेको सिनोफार्मले जनाएको छ ।
बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्र मा खोपका लागि भेला भएका छन् । स्वास्थ्य अधिकारीहरूले जिम र कारखानाका खाली भवनहरूलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।
चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् । अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्