१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायतमा खोपको पहिलो डोज शुरु


0
Shares

एजेन्सी । बेलायतमा सोमबाट अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको खोपको पहिलो डोज वितरण सुरु भएको छ । आजबाट वितरण सुरु गरिएको अक्सफोर्डको भ्याक्सिनको पहिलो डोज अक्सफोर्डस्थित एक अस्पतालमा ८२ वर्षीय ब्रायन पिंकरलाई दिइएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मृगौलाको डायलासिस गराउँदै आएका पिंकरले खोप लगाउन पाएकोमा खुशी व्यक्त गर्दै अक्सफोर्डद्वारा निर्माण गरिएको उक्त खोपप्रति आभार प्रकट गरेका छन् । आजै खोपको ५ लाख ३० हजार डोज वितरणका लागि तयार गरिएको छ । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला खोप वितरण कार्य तीव्र पारिएकोले ठूलो राहत मिल्ने आशा गरिएको छ ।

बेलायतमा आम मानिसको प्रयोगका लागि मान्यता पाएको कोरोना विरुद्धको यो दोस्रो खोप हो । बेलायतमा यसअघि नै फाइजर बायोनटेक कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य सुरु भइसकेको छ । हालसम्म दश लाख भन्दा बढी मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोना विरुद्धको युद्ध जित्न अक्सफोर्डको खोप निकै प्रभावकारी बन्ने विश्वास व्यक्त व्यक्त गर्नुभएको छ । आगामी केहि समय जटिल रहेपनि विस्तारै परिस्थिति सहज हुने उहाले बताउनुभयो । बेलायतमा पछिल्ला दिनमा लगातार दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।