
काठमाडौं । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भएको हो ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम नाै दशमलव पाँच डिग्री मापन गरिएको छ । बादल लागेकाले न्यूनतम तापक्रम बढेको हो । उपत्यकामा गत बिहीबार बिहानको न्युनतम तापक्रम ०.८ डिग्री मापन गरिएको थियो । आगामी बुधबारबाट मौसम सामान्य बन्दै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।
मौसम खुले पनि पश्चिमी क्षेत्र र तराई क्षेत्रमा बाक्लो हुस्सु भने लाग्न सक्ने छ । यस वर्षको हिउँद याममा वर्षा नभएकाले तराईका क्षेत्रमा शीतलहरको सम्भावना भने कम रहेको उहाँकाे भनाइ छ । वायुमण्डलको माथिल्लो तहमा बादल लाग्ने र वर्षा नहुँदा दुषित हावाको फोहोर जमिनमा झर्न नपाएकाले तुवाँलो तथा हुस्सु लाग्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्