१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना संक्रमण नियन्त्रण नहुँदै सबै क्षेत्र खोल्नु कति जायज ?


13
Shares

काठमाडौं । कोरोना भाइरसका कारण १० महिनादेखि बन्द रहेका विद्यालय, सिनेमा हल, जिमखाना, पार्टी प्यालेस लगायतका क्षेत्र खोल्न सिफारिस गर्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड नियन्त्रण रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति (सीसीएमसी) निर्देशक समितिले खोल्न बाँकी रहेका सबै क्षेत्र खुला गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । विज्ञहरुले भने जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि पहिलो पटक लकडाउन गरिएको १० महिनापछि संवेदनशील मानिएका क्षेत्रहरू समेत खोल्नका लागि सीसीएमसीले सिफारिस गरेको हो । संक्रमणको दर कम हुँदै गएको भन्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो । संक्रमणको दर पुनः बढ्न थाले आवश्यक निर्णय लिने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिनेगरी खोल्नका लागि सिफारिस गरिएको जनाइएको छ ।

नेपालमा कुल संक्रमित मध्ये ९७ दशमलव २ प्रतिशत निको भएका छन् । जसका कारण सक्रिय संक्रमितको संख्या समेत अहिले कम छ । अस्पतालमा बिरामीको चाप समेत घटेको छ । सीसीएमसीले गरेको निर्णय जनस्वास्थ्यका हिसाबले ठिक नभएको जनस्वास्थ्यविज्ञ डा. शरद वन्त बताउनुहुन्छ ।

सीसीएमसीले नयाँ प्रकारको कोरोना भाइरस र कोरोनाको दोस्रो लहर फैलन नदिन उच्च सर्तकता अपनाउने र स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन समेत गरिने जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नभए वा लापरवाही गर्नेलाई कारबाही समेत गर्ने निर्णय भएको छ । तर, संक्रमणको दर घटेको संकेत देखिए पनि सबै क्षेत्र खुल्दै जाँदा कोरोनाको दोस्रो लहर समेत सुरु हुन सक्ने सम्भावना रहेकाले त्यस तर्फ ध्यान पु¥याउन डा. वन्तको आग्रह छ ।

सडकमा मानिसको भिडभाड केही महिना देखि बढ्दो नै छ । तर, पछिल्लो समय परीक्षणको तुलनामा संक्रमितको संख्या समेत कम देखिन थालेकाले संक्रमण दर कम भएको हुन सक्ने विज्ञहरुको भनाइ छ । संक्रमण दर कम भयो भन्दैमा लामो समय बन्द रहेका क्षेत्र खुल्दै जाँदा र भिडभाड उच्च हुँदै जाँदा संक्रमण पुनः सुरु हुने सम्भावना समेत रहेकाले सचेत हुनु भने आवश्यक छ । साथै जनस्वास्थ्यको मापदण्ड पालनामा भने कडाइ गराउनु जरुरी छ ।