
काठमाडौं । अष्ट्रेलियामा जारी बिगबास लिग बीबीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपाली स्पिन बलर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्स पराजित भएको छ ।
सोमबार भएको खेलमा होबर्ट मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको हो । मेलबर्नले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको होबर्टले ६ विकेट गुमाएर १ सय ७३ रनमात्र बनाउन सक्यो । होबर्टका लागि बेन म्याक डर्मटले ५८ बलमा ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । साम रेनबर्डले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । मेलबर्नका लागि मार्कस स्टोनिसले ५५ बलमा अविजित रहँदै ९७ रन बनाए । नाथन एलिसले ३ तथा रिले मेरेडिथले २ विकेट लिएको इनिङ्समा सन्दीपले १ विकेटमात्र लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेका थिए ।
कोरोनाको महामारी र १४ दिनको क्वारेन्टिन बसाईका कारण शुरुवाती ६ खेल गुमाएका सन्दीपले लगातार दोस्रो खेल खेलेका हुन् । पहिलो खेलमा उनले २ विकेट लिएका थिए । लिगमा ८ खेलबाट होबर्टको १८ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्