१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपाको विवाद समाधानका लागि आयोगद्वारा नियमावली संशोधन


0
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विावद निर्वाचनअघि नै समाधान गर्नका लागि राजनीतिक दलसम्बन्धी आफैंले बनाएको नियमावली संशोधन गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारबाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।

निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा एक सय २० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा निर्वाचन अवधिभर विवाद निरूपण सम्बन्धमा कुनै कारबाही नगरिने भनिएको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले माघ दोस्रो साता दल दर्ताको समय दिँदै छ । विवाद नटुंगिँदा नेकपालाई निर्वाचन प्रयोजनका लागि दल दर्ताको प्रक्रियामै झमेला हुने आंकलन गरेर दल दर्ताको प्रक्रिया सकिएर विवाद निरूपण भएको अवस्थामा दुवै पक्षलाई निर्वाचन प्रयोजनकै लागि दल दर्ता गर्न छोटो अवधि दिन सकिने व्यवस्था नियमावलीमा थपिएको छ ।

नियमावलीको नियम १६ को उपनियम १ मा १ (क) थप गरी विवाद निरूपणपछिको अवस्थामा दल दर्ताका लागि छुट्टै समय दिन सकिने व्यवस्था गरिएको छ । नियमावलीको एउटा उपनियम हटाएपछि आयोगलाई नेकपाको विवाद हेर्ने बाटो खुलेको छ । आयोगले दल दर्ताका लागि छुट्टै समय दिन सकिने व्यवस्थासहितको उपनियम थप गरेको छ ।